खोटाङ, साउन २२ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ७२ जना किसान सम्मानित भएका छन् । नगरपालिकाले उनीहरुलाई सम्मानपत्रले मंगलबार सम्मान गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाको उत्पादनमा आधारित अनुदान पाउने किसानहरुलाई नगरपालिकाले सम्मान गरेको जनाएको छ । उत्पादनमा आधारित अनुदानकालागि नगरपालिकाले किसानलाई सुचिकृत गराएको थियो । जसमा १ सय ५० जना किसान सुचिकृत भएका थिए । उनीहरुमध्ये ७२ जना किसानले उत्पादनमा आधारित नगद अनुदान पाएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो ।
नगरपालिकाले ७ वटा बालीमा अनुदानका लागि किसानलाई सुचिकृत हुन आग्रह गरेको थियो । सुचिकृत भएर ५ वटा बालीमा किसानले अनुदान पाएका छन् । नगरपालिकाले तोकेको मापदण्ड अनुसार तोरी उत्पादन गर्ने १० किसानले उत्पादनमा आधारित अनुदान पाएको नगरपालिकाका कृषि शाखा प्रमुख तेज प्रकाश जैशीले बताउनुभयो । उनीहरुले १ लाख ४४ हजार ८ सय ५५ रुपैयाँ अनुदान रकम पाएका हुन् । यस्तै, मोरीको मह उत्पादन गर्ने ७ जना किसानले १ लाख ६३ हजार ५ सय अनुदान रकम पाएको जैशीले बताउनुभयो ।
यस्तै, फापर उत्पादनमा एक जना कृषकले मात्र मापदण्ड अनुसार उत्पादन गरेर अनुदान पाउनुभएको छ । प्याज उत्पादनमा २३ जना कृषकले १ लाख ३३ हजार १ सय र कोदो उत्पादनमा ३१ जनाले १ लाख ८१ हजार ७ सय रकम अनुदान पाएको कृषि शाखा प्रमुख जैशीले बताउनुभयो । उत्पादनमा आधारित अनुदान रकम पाउने उक्त किसानहरुलाई नगरपालिकाले मंगलबार सम्मान गरेको हो ।