शुक्रबार, कार्तिक ७ गते २०८३

अब ड्राइभिङ लाइसेन्सका लागि कार्यालय धाउनुपर्दैन, साउन १ देखि आवेदन, नवीकरण र राजस्व भुक्तानी पूर्ण रूपमा अनलाइन


  • 135
    SHARES
  • श्रावण १, २०८३ शुक्रबार
    अब ड्राइभिङ लाइसेन्सका लागि कार्यालय धाउनुपर्दैन, साउन १ देखि आवेदन, नवीकरण र राजस्व भुक्तानी पूर्ण रूपमा अनलाइन

    काठमाडौं । यातायात व्यवस्था विभागले साउन १ गते शुक्रबारदेखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ। अब सेवाग्राहीले लाइसेन्सको नयाँ आवेदन, नवीकरण तथा राजस्व भुक्तानी घरबाटै अनलाइनमार्फत गर्न सक्नेछन्।

    विभागले लागू गरेको नयाँ डिजिटल प्रणालीअनुसार राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको QR कोड स्क्यान गरी आवेदन फारममा व्यक्तिगत विवरण स्वतः (अटोफिल) हुने व्यवस्था गरिएको छ। यसले फारम भर्ने प्रक्रिया सहज, छिटो र त्रुटिरहित बनाउने विभागको विश्वास छ।

    यस व्यवस्थासँगै लाइसेन्स आवेदन, नवीकरण वा राजस्व बुझाउन सम्बन्धित कार्यालयमा पटक–पटक धाउनुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ। विभागका अनुसार नयाँ प्रणालीले सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउनेछ।

    प्रदेशअनुसार छुट्टाछुट्टै अनलाइन पोर्टल

    अनलाइन सेवा सञ्चालनका लागि विभागले प्रत्येक प्रदेशका लागि अलग-अलग पोर्टल निर्धारण गरेको छ। सेवाग्राहीले आफ्नो सम्बन्धित प्रदेशको पोर्टलमार्फत आवेदन दिनुपर्नेछ।

    प्राविधिक समस्या आए कहाँ सम्पर्क गर्ने?

    अनलाइन सेवा प्रयोगका क्रममा कुनै प्राविधिक समस्या वा गुनासो आएमा विभागले केन्द्रस्तरबाटै सहजीकरण गर्ने जनाएको छ। सेवाग्राहीले gunaso@dotm.gov.np मा इमेल पठाउन सक्नेछन्।

    त्यस्तै, थप जानकारी वा सहायताका लागि सम्पर्क व्यक्ति युकेश चौधरी (९८४८९०६५२८) र रेणु आचार्य (९८६१५४९८६८) सँग सम्पर्क गर्न सकिनेछ। विभागका टेलिफोन नम्बर ०१–४५७४९२१ र ०१–४५७४९२२ पनि सेवाग्राहीका लागि उपलब्ध रहेको विभागले जनाएको छ।

    विभागले अनलाइन प्रणालीको प्रभावकारी कार्यान्वयनसँगै सेवाग्राहीलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।



    ताजा अपडेट