खोटाङ, कात्तिक ९ । फोसिक्ङटारमा १२० मिटर लामो बेलब्रिज जडान गरिने भएको छ । खोटाङलाई तराईसँग सिधा जोड्ने सगरमाथा राजमार्ग अन्तर्गत खोटाङ–उदयपुर जोड्ने फोसिक्ङटारस्थित सुनकोसी नदिमा १२० मिटर लामो बेलब्रिज निर्माण हुने भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतसँग पुल बनाउने सामाग्री मागेर तयारी गरेको जनाएकोछ छ । ५० देखि १२० मिटरसम्म २० वटा पुल बलाउने सामाग्रीहरू सहयोग गर्न आग्रह गरेको थियो । ३८ ट्रक बेलब्रिजका सामाग्री मकवानपुरको हेटौंडामा आइपूगेका छन् । ती सामाग्री हेटौंडास्थित सडक डिभिजन कार्यालयमा राखिएको मन्त्रालयले जनाएको छ । तर कतिवटा पुल बराबरको सामाग्री आए भनेर मन्त्रालयले स्पष्ट जानकारी दिएको छैन ।
भारतीय र नेपाली प्राविधिक मिलेर फोक्सिङटारमा सबै भन्दा लामो १२० मिटरको बेलब्रिज निर्माण गर्ने भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले बताउनुभएको छ । खोटाङ लाई तराईसँग जोड्ने प्रमुख फोक्सिङटारको पुल १२ वर्ष लागेर निर्माण भएको थियो । सञ्चालनमा आएको दुई वर्षमै अविरल वर्षाको कारण सुनकोसीको बाढीले गत असोजमा बगाएको हो ।