२९ भदौ, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गर्ने भएकी छन्। बिहान ११ बजे हुने कार्यक्रममा उनले औपचारिक रूपमा पदभार सम्हाल्ने सचिवालयले जनाएको छ।
जेनजी आन्दोलनका कारण सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। उनले सोही दिन शपथ ग्रहण गर्दै संसद विघटन गर्ने घोषणा गरेकी थिइन्।
पदभार ग्रहणसँगै प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्। मन्त्री नियुक्तिका विषयमा छलफल भइरहेको र आजै नामावली टुंग्याएर नियुक्ति गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री बनेको पहिलो दिन शनिबारै कार्कीले आन्दोलनमा घाइते भएकाहरुलाई अस्पताल पुगेर भेट गरेकी थिइन्।