शुक्रबार, कार्तिक ७ गते २०८३

ओली समूहले पनि टुंग्यायो पदाधिकारी उम्मेदवार, अध्यक्षमा ओली–महासचिवमा पोखरेल दोहोरिने

  • 52
    SHARES
  • मंसिर ३०, २०८२ सोमबार
    ओली समूहले पनि टुंग्यायो पदाधिकारी उम्मेदवार, अध्यक्षमा ओली–महासचिवमा पोखरेल दोहोरिने

    २९ मंसिर, काठमाडौं । नेकपा (एमाले) को एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहले पनि पदाधिकारी पदका उम्मेदवारहरू करिब टुंगो लगाएको छ ।

    ओली समूहबाट अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली स्वयं उम्मेदवार रहने निश्चित भएको छ । महासचिव पदमा शंकर पोखरेल दोहोरिने पक्का भएको स्रोतले जनाएको छ । पोखरेल यसअघि पनि महासचिवको जिम्मेवारीमा थिए ।

    उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागेको छ । यद्यपि, प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा समेट्ने प्रयास भइरहेको छ । ओली र ज्ञवालीबीच छलफल जारी रहेकाले उनको नाम औपचारिक रूपमा अन्तिम टुंगोमा पुग्न बाँकी रहेको स्रोतको भनाइ छ ।

    उपमहासचिव पदका लागि लेखराज भट्ट, विष्णु रिमाल र रघुबिर महासेठको नाम फाइनल भएको छ । पार्टीभित्र संगठन र सरकार सञ्चालनमा अनुभव भएका नेताहरूलाई उपमहासचिवमा अघि सारिएको बताइएको छ ।

    त्यसैगरी सचिव पदमा नौ जनाको नाम टुंगो लागेको छ । ओली समूहबाट सचिवका उम्मेदवारमा भानुभक्त ढकाल, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा र यामलाल कँडेल रहेका छन् ।

    एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारीको व्यवस्था गरेको छ । यसपटक अध्यक्षदेखि सबै पदाधिकारी पदमा निर्वाचन हुने निश्चित भएसँगै पार्टीभित्र प्रतिस्पर्धा चर्किएको छ ।

    यसैबीच, वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल नेतृत्वको समूहले पनि आफ्नो पदाधिकारी प्यानल टुंगो लगाइसकेको छ । ओली र पोख्रेल नेतृत्वका दुई प्यानलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

    पदाधिकारीमा आकांक्षा राखेका तर दुवै समूहका प्यानलमा नपरेका नेताहरूले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । यसले केही पदमा त्रिकोणात्मक वा बहुपक्षीय प्रतिस्पर्धा हुने सम्भावना बढाएको छ ।

    एमाले महाधिवेशनअन्तर्गत मतदान पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुने कार्यतालिका छ । नयाँ नेतृत्व चयनले एमालेको आगामी राजनीतिक रणनीति र आन्तरिक शक्ति सन्तुलनमा महत्वपूर्ण प्रभाव पार्ने विश्लेषण गरिएको छ 

    ताजा अपडेट