नेपालको अर्थतन्त्र पछिल्लो समय मन्दीबाट गुज्रिरहेको छ। बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भए पनि कर्जा प्रवाह हुन सकेको छैन।
ब्याजदर उच्च भएको भन्दै अर्थतन्त्रले कर्जाको माग नगर्दा अर्थतन्त्रमा माग सृजना हुन सकेको छैन। माग नबढ्दा आयात बढ्न सकेको छैन। आयातमा आएको कमीले सरकारले लक्ष्यअनुसार राजस्व असुली गर्न सकेको छैन।
यस्तै नेपाली अर्थतन्त्र तथा बैंकिङ प्रणालीमा थुप्रै समस्या विद्यमान छन्। प्रस्तुत छ नेपालको अर्थतन्त्रमा देखिएको पछिल्लो समस्या, समाधानका उपाय, बैंकिङ क्षेत्रमा रहेका समस्या, अधिक तरलता र उच्च ब्याजदर, मर्जर तथा प्राप्ति र विवादित एफपीओ करलगायतका विषयको सेरोफेरोमा रहेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेसँगको अन्तर्वार्ता:
नेपालको अर्थतन्त्रको पछिल्लो अवस्थाबारे यहाँको बुझाइ कस्तो छ?
नेपालको अर्थतन्त्र अहिले निकै खराब अवस्थाबाट गुज्रिरहेको छ। कोभिड १९ महामारीमा भन्दा अहिले अर्थतन्त्रमा केही सुधार देखिए पनि उत्साहित बनाउने खालका गुणात्मक परिवर्तन भने भएकै छैन। अर्थतन्त्रको गति कसरी चलेको छ भन्ने थाहा पाउनका लागि हेर्ने भनेको रोजगारी सृजना गर्ने र मूल्यवृद्धि नियन्त्रण गर्ने हो। रोजगारीको अवस्था हेर्ने हो भने निकै निराशाजनक अवस्था छ। प्रजातन्त्र आएको ३३ वर्ष पुग्दासमेत मुलुकको अर्थतन्त्रले फड्को मार्न सकेको छैन। विगत ३३ वर्षमा ३३ वटै सरकारहरू बने होलान्। तर अझै राजनीतिक स्थायित्व कायम हुन सकेको छैन। हामीले सन् १९८५ देखि १९९० बीचको ५ वर्षको अवधिको आर्थिक वृद्धिदरलाई अहिलेको आर्थिक वृद्धिदरसँग तुलना गर्यौँ भने त्यसबेलाकै आर्थिक वृद्धिदर उच्च देखिन्छ। भलै अर्थतन्त्रको आकार सानो थियो होला तर गुणस्तरीय आर्थिक वृद्धिदर हासिल भएको देखिन्छ। म त्यसबेला राष्ट्र बैंकमा कार्यरत थिएँ, त्यसबेलाको आर्थिक वृद्धिदरलाई निकै नै राम्रो आर्थिक वृद्धिदर भनेर राष्ट्र बैंकले विश्लेषण गर्थ्यो।
बरु पञ्चायतकालमै नेपालमा धेरै ठूला र अर्थपूर्ण पूर्वधार निर्माण भएका थिए। पूर्वपश्चिम राजमार्गलगायतका ठूला परियोजना त्यतिबेलै बनेका थिए। अरुण तेस्रोजस्तो जलविद्युत् आयोजनाको चर्चा पनि त्यतिबेलादेखि नै भएको थियो। बरु त्यसपछि खुला राजनीतिक प्रणालीमा आएपछि अरु तेस्रोलाई रोकियो। एउटा अरुण तेस्रो परियोजना रोकिँदा यो देशको विकासको गति कति पछि धकेलियो भन्ने कुरा लेखाजोखा नै छैन।
यदि अरुण त्यतिबेला नै बनेको भए आर्थिक वृद्धिदर नै प्रत्येक वर्ष १ देखि २ प्रतिशतसम्म थप हुन्थ्यो। अरुण परियोजना नबन्दा अर्थतन्त्रमा ‘रिपेल इफेक्ट’ पर्यो।
एउटा परियोजना निर्माण नहुँदा त्यसको असर बहुआयामिकरुपमा पर्यो। यसैको असरले गर्दा नेपाल अहिले पनि जलविद्युत् क्षेत्रमा आत्मनिर्भर हुन सकेको छैन। वर्षायाममा हाम्रो उत्पादनले पुगे पनि हिउँद याममा भारतबाट विद्युत् आयात भइरहेकै छ।
खासमा सरकारले पूर्वाधार निर्माण गर्ने, लगानी गर्ने काम नै गरेन। पछिल्लो समय अलिअलि भएको जलविद्युत् पनि निजी क्षेत्रकै अग्रसरतामा भएको हो। तर पनि यसमा अझै राम्रो किन भएन भने निजी क्षेत्रसँग पैसा छैन। खासमा नेपालमा पुँजीकै अभाव छ।
म आफैले पनि जलविद्युतमा लगानी गरिरहेको छु। सुरुवातमा १० मेगावाटको एउटा परियोजना निर्माण गरेँ। त्यसपछि २२ मेगावाट र हाल १०८ मेगावाटको परियोजना सञ्चालन गरिरहेको छु। पुँजी अभावले गर्दा नै मलाई २२ मेगावाटबाट १०८ मेगावाटको परियोजना गर्न धेरै समय लाग्यो।
यसभन्दा माथि मानौँ २०० मेगावाट गर्न पुँजी पुग्दैन। १ मेगावाटको परियोजना गर्न १.५ मिलियन डलर खर्च आउँछ। २०० मेगावाट गर्न ३ सय मिलियन डलर चाहिने भयो। यसका लागि न्यूनतम पनि १०० मिलियन डलर लगानी राख्नपर्यो। १०० मिलियन डलर लगानी गर्ने क्षमता नेपालीमा छैन।
एकातिर पूर्वाधार निर्माण गर्न हामीसँग पुँजी छैन भने अर्कोतिर विदेशी लगानी आउन सकेको छैन। यस्तो अवस्थाले नेपालको विकास कम्तीमा पनि मेरो जीवनकालमा सम्भव देख्दिनँ।
मुख्य कुरा पुँजी हो, जुन हामीसँग छैन। त्यसका लागि विदेशी लगानी चाहिन्छ। भारत, अमेरिका, बेलायत, चीन जुनसुकै देशबाट पनि वैदेशिक लगानी ल्याउन जरुरी छ। नेपालीले लगानी गर्न सकेमा त्यसको लगानी र लाभांश नेपालमै सुरक्षित रहन्छ।
तर विदेशी लगानी आएमा केही पैसा नेपालमा रहन्छ बढी विदेश जान्छ। तर पनि विदेशी लगानी नआइ मुलुकको विकास हुने सम्भावना छैन।
नेपालमा पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा अपार सम्भावना छ भनिन्छ। यी क्षेत्रमा लगानी पनि भएको छ। तर त्यसको प्रतिफल प्राप्त हुन सकेको छैन। यसको पछाडि के कारण देख्नुहुन्छ?
हामीले समयमा नै हाम्रो देशलाई सम्हाल्न नसकेकाले बिगार्यौँ। नेपाल पर्यटनमा अथाह सम्भावना भएको देश भन्छौँ। तर नेपालको पर्यावरणको अवस्था निकै उदासलाग्दो छ। काठमाडौंलाई हेरेर कुन पर्यटक नेपालमा दोस्रो पटक फर्किएर आउँछ? संसारमा यति सुन्दर देशहरू छन्। नेपालमा के हेर्न आउने हो?
अर्कोतिर हामीले हाम्रो विशेषता नै मास्यौँ। ट्रेकिङका लागि जाने हो भने पहिलेको गाउँ बस्ती नै हराइसक्यो। नयाँनयाँ रंग न ढंगका घरहरू निर्माण भएका छन्। जसले गाउँबस्तीको सुन्दरता नै मारिसक्यो। अरु देशले आफ्नो ठाउँ बनाउन खर्च गर्छन्। कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, मलेसिया, सिंगापुर, चीनलगायतका देशहरूले पर्यटक भित्र्याउनका लागि पूर्वाधारमा खर्च गरिरहेका छन्। हुन त उनीहरूसँग पैसा छ। तर स्रोतको अभावका बाबजुद हामी देश बिगार्न खर्च गरिरहेका छौँ। गाउँमा एउटा बाटो पुर्याएर जग्गा कारोबार हुने गरेको छ। बाटो पुर्याएर बैंकबाट अर्बौँ पैसा लिएर घरजग्गामा लगानी भइरहेको छ। कृषियोग्य जमिन घडेरीकरण भएको छ।
प्रतिफलको कुरा गर्ने हो भने अहिले बैंकहरू नै ५ प्रतिशत पनि प्रतिफल दिन नसक्ने अवस्थामा पुगिसके। जब कि मुद्दती बचतको ब्याजदर नै ११ प्रतिशतको हाराहारीम पुगिसक्यो। मुद्रास्फीति नै ७ प्रतिशतभन्दा माथि छ। मैले समयमा नै जलविद्युत् तथा होटललगायतका क्षेत्रमा लगानी विविधिकरण नगरेको भए आज मुद्दती निक्षेपभन्दा कम प्रतिफल प्राप्त गर्ने अवस्था हुने थियो।
खेतीयोग्य जमिन सबै बाँझो हुन थाले। कृषिमा भएका जनशक्तिले समेत जीविकोपार्जन गर्न सक्ने अवस्था छैन। काम गर्न सक्ने सबै जनशक्ति विदेशमा छन्। कृषिमा लगानी बढेको बढ्यै छ तर उत्पादन र उत्पादकत्व बढ्न सकेको छैन। त्यसैले कृषिजन्य उपज पनि भारतबाटै आयात भइरहेको छ।
पछिल्लो समय बैंकमाथि बढी नाफा कमाएको आरोप लाग्ने गरेको छ, तर बैंकको पुँजीको अनुपातमा प्रतिफल खुम्चिँदै गएको देखिन्छ नेपालका बैंकहरूले असाध्यै धेरै नाफा कमाएको अवस्था हो ?
नेपालमा खास नाफा त डिलरहरूले कमाएका छन्। उद्यमी व्यवसायीले होइन। मोटरसाइकल तथा कार डिलरहरूले नेपालमा प्रशस्त नाफा कमाइरहेका छन्।
न रोजगारी, न वैदेशिक मुद्राको आर्जन न लाभको वितरण? उपभोक्ताबाट कर उठाएर बुझाइदिने बाहेक अर्थतन्त्रमा केही पनि योगदान नभएकाहरूले कमाइरहेको सुपर नाफा त्यो हो।
भारत र चीनबाट गाडी आयात गरेर अर्बौँ नाफा गरिरहेका कार डिलरहरूले बैंकहरूले बढी नाफा गर्यो भन्ने आरोप लगाउँछन्। किनकि उनीहरूले कमाएको नाफा ढाकछोप गर्न सबैको ध्यान बैंकतर्फ केन्द्रित गर्छन्।
हामी बैंकमा रहेकाहरू पनि बेवकुफ छौँ। लगानी छ ६० अर्ब, कमाइ हुन्छ ४ अर्ब। मिडियाहरूले पनि बैंकको लगानीबारे खासै बोल्दैनन्। तर बैंकहरूले अत्यधिक नाफा कमाए भनेर समाचार लेख्छन्।
त्यसपछि राष्ट्र बैंकको कामै स्थायित्व कायम गर्ने हो। बढी नाफा भयो भन्दै हरेक ठाउँमा कस्छ। व्यवसायीहरू बैंकले मात्रै पैसा कमाएको भन्दै सबैको ध्यान खिच्ने काम गर्छन्।
त्यसैले मैले आजभोलि कार डिलरले मात्रै पैसा कमाएको छ भन्ने गरेको छु। गाडी बिक्री गरेको छ, वातावरणमा प्रदूषित गरेको छ। जसले आजभोलि काठमाडौंका धेरै बालबच्चाहरूमा श्वासप्रश्वासमा समस्या देखिने गरेको छ।
वातावरणीय प्रदूषण बचाउन भन्दै विद्युतीय कार बिक्री गरिरहेका छन्। विद्युतीय कार सस्तो छ र? मैले बैंकमा विद्युतीय कार मात्रै कर्जा दिनुपर्छ भन्दा साथीहरूले नर्मल कारको तुलनामा २० लाख महँगो छ भने।
यसले स्रोतमा दबाब पर्छ भन्दै उनीहरूले चिन्ता व्यक्त गरे। फेरि विद्युतीय सवारी साधानको ब्याट्रीबाट अर्को खालको प्रदूषण हुने रहेछ। यसको ब्याट्री डिस्पोजलका लागि सरकारले अहिलेसम्म कुनै पनि व्यवस्था गरेको छैन।